जसले जतिसुकै लठ्ठीले हाने पनि
हरियो घाँस देखेपछि
गाई चर्छ नै।
जसले जतिसुकै डोकाले छोपे पनि
चारो देखेपछि
चल्लाहरू चारो टिप्न निस्कन्छन् नै।
म पनि छताछुल्ल च्यातेर मनहरू
इन्कलाब गर्न निस्केको छु-
ज्यादै असामयिक भयो कि!
जस्तो
बनाउनेले त
फेदैबाट बनाएकै हुन् धरहरा
तर चित्र कोर्नेले
टुप्पाबाट बनाउँदै आउँदा रहेछन् धरहरा।
पर्खनु पर्छ
समय आफैँ चुँडिन्छ,
फलामका साङ्लाहरूमा पनि
खिया भएर।
पर्खनु पर्छ
बालक आफैँ तन्देरी हुन्छ,
जाडो र गर्मीहरूमा पनि
बैँश पचाएर।
हत्केलामा सूर्यको अस्तित्व अँटाउँदैन
पर्खनु पर्छ,
बिहान पनि हुन्छ
र मध्याह्न पनि।
अञ्जुलीमा सागरको पानी भरिन सक्दैन
पर्खनु पर्छ,
बाफ भएर।
घण्टाघरले सङ्गीत बनाएर
कँज्याएको छ समय
जसरी
उड्छ र झर्छ पानी।
सारङ्गी खोक्रो भएर पनि
कँज्याएको छ सङ्गीत
जसरी
सुम्सुम्याएर थप्थपाउँदै
तङ्ग्राउनु पर्छ समय
त्यसरी पर्खन सक्नु पर्छ।
ब्यूँझाएर सुतेका पहाडहरू
उठाउनु पर्छ समय
त्यसरी पर्खन सक्नु पर्छ।
केवल दु:खमा आत्तिनु र
सुखमा मात्तिनु नै सही हो भने
म पनि फोरेर पर्खालहरू
निस्कन्छु सडकमा
जसो भन्नु हुन्छ!
तर
टुप्पाबाट चुलिँदै चुलिन पुगेको हो सगरमाथा
यसलाई आरोहण गर्नेहरू
फेदैबाट चढ्दा रहेछन् सगरमाथा।
पर्खनु पर्छ !
०००