Last modified on 3 मई 2020, at 11:04

पर्खिबसेँ छुट्ने आशमा / गीता त्रिपाठी


सानो छँदा छुन पाइनँ आफ्नै पानीपँधेरो
ठूलो भएँ लाग्यो सारा संसार नै अँधेरो
पर्खिबसेँ छुट्ने आशमा
मेरो दैव कैदी भयो मेरै बासमा
 
कसलाई सोधूँ धेरैथरी कुरा खेल्थे मनमा
बेग्लिएर बाँच्नुपर्दा जीवनको वनमा
अल्झी रह्यो जीवन सासमा
मेरो दैव कैदी भयो मेरै बासमा
 
मेरै पुर्खा छोपिदिन्थे दुनियाँको लाज
नाङ्गिएर बाँच्नुपर्यो आफू सबको माझ
जीवन काटूँ कति त्रासमा
मेरो दैव कैदी भयो मेरै बासमा
 
मैले छोएँ मुस्कुरायो धरतीको फूल
तर किन मान्छेबाटै भयो यस्तो भूल
बाँचिरहेँ उपहासमा
मेरो दैव कैदी भयो मेरै बासमा