पहाडको बाटो / प्रकाश सायमी

मलाई पहाडको बाटो एकदम मनपर्छ
भीडमा हिँड्दा एक्लै लाग्ने
एक्लै हिँड्दा अग्लो लाग्ने
तिनीसितको सामीप्य
मलाई वेलाको धूनजस्तै लाग्छ,

मैले पहाडलाई नजीकबाट देखेको छु
कहिले आमाको आँसुमा
कहिले बाबुको हाँसोमा
मैले पहाडलाई दुःखले स्पर्श गरेको छु
पहाड देख्दा मलाई
आफूसँग हराएका बचपनका साथी याद आउँछन्
जो साना साना कुरामा ठूलाठूला झगडा गर्थे
जो झिनामसिना खुसीमा असमान सपना देख्थे

गोटी हराउने खेलमा कट्टी भन्थे
कान्छी औँला जुठो पारेर कैयन् रात बोलचाल बन्द गर्थे
त्यही औँला जूठो पारेको रात नराम्रो सपना देख्थे
अनि भोलिपल्ट त्यही सपना हाँसेर सुनाउथे
मलाई पहाडको त्यस्तो हाँसो मनपर्छ

मलाई पहाडको बाटो मनपर्छ
कहिलेकाहीँ म एक्लो हुँदा पहाडलाई सम्झिन्छु
र, सम्झेकै साँझ एक्लै रोएको छु
तिनी पनि त्यसरी नै रोएकी होलिन्
जसरी अनिच्छापूर्वक बिहे भएकी कन्या
बिहे अगिको रात आफ्ना भावी पतिलाई सम्झेर रोएकी होली

मलाई पहाडको त्यस्तो आँसु मनपर्छ
जसमा कतै सपना कतै विश्वास ।
 कतै संकट
त कतै आफ्नोपनको भर हुन्छ
मलाई त्यस्तो आँसु मन पर्छ

पहाडलाई मैले नजीकबाट देखेको छु
आमाको चश्मा मुनिको बाटो भएर झरेका आँसुलाई
पुछ्न खोज्दा खसेर चोक्टा चोक्टा भएर फुटेको देखेको छु
बाबुको ढाडमा चढेर हेर्न खोजेको बाजेको पुरानो तस्वीरमा
झल्किएको व्ल्याक् एन्ड व्हाइट पोट्रेटजस्तै
धमिलो धमिलो देखेको छु

मलाई पहाडको अतीत मनपर्छ
पहाड कसैलाई
छेकेर बचाइरहन्छ
पहाड कसैलाई देखेर
फकाइरहन्छ
पहाड कसैलाई टेकेर
उचाइ दिइरहन्छ
दुःखको तीललाई पहाड बनाउने राजनीति ऊ जान्दैन
सुखको डिललाई लछार पछार गर्ने राजनीति ऊ जान्दैन

छोडेर गएका फर्किएनन्
फर्किएका बस्दैनन्
त्यो जानेर पनि ऊ भविष्यवाणी भन्दैन
पहाड कहिलेकाहीँ हेमानको पहाड भन्दा एक्लो हुन्छ
उसका समस्या पहाड नै भए पनि ऊ तराई झर्न मान्दैन
त्यसैले ऊ अझै पहाडकै बाटो चढ्छ

र, भन्छ
मलाई पहाडको बाटो मनपर्छ
धेरै दिनको विदामा पहाड गएर फर्केको लाहुरेजस्तै
म आज फर्केर पहाडजस्तै एक्लो भएको छु

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.