Last modified on 23 जून 2020, at 15:28

पाण्डुलिपि हराएको दिन / रमेश क्षितिज


निद्राको पंक्षी गुँड सरेर
टाढा पुगेको होला जङ्गलको कुनै रूखमा
यता तातो तावाजस्तो ओछ्यानमा
रोटी सेकेझैँ शरीरलाई
कोल्टै फेर्दै सम्झिरहेको छु म त्यो नीलो डायरी !

कठै ! त्यसमै थिए मैले दशकभरि देखेका सपना
एउटा इतिहासको कालखण्ड देखिने ऐनाजस्ता अक्षरहरू
अनेकौँ उहापोह र आत्मकथाहरू

आँखामा भुसुनाझैँ ठुङ्न आइरहेछन् अनेक बिम्बहरू
अस्पतालको एक कुनामा रोइरहिछ कुनै स्वास्नीमान्छे
गर्भमै मृत शिशुको नीलो अनुहार हेरेर
अँध्यारो कोठाको एउटा कुनामा पढिरहेछ एक नेपाली युवा
आफ्नी विदेशी प्रेमिकाका शब्दहरू इमेलमा
जहाँ छ लेखिएको – प्रेमका लागि फुर्सद छैन मलाई
कृपया अब हामी साथी मात्रै बनौं !

वा वाढीले काटेर बगर भइसकेको आफ्नो खेत हेरेर
उदास उभिइरहेछ कुनै किसान खोलाको किनारमा,

कहिल्यै नभेटिने बालसखाजस्तो भएर
हराएको छ पाण्डुलिपि आज

कसले निभायो होला चुरोटको ठुटो
नाबालकजस्ती उसका चोखा पन्नाका ओठहरूमा
वा कुनै खलनायकजस्तो पसलेले
जबर्जस्ती च्यात्यो होला लुगाजस्ता उसका आवरणहरू
गुन्डा हुरीले गल्हत्यायो होला
वा कुल्च्यो होला कि असिनाको सैनिक बुटले बेसरी

पाण्डुलिपि हराएको दिन
जीवनका बहुमूल्य दश वर्षहरू त्यसै गुमाएँ मैले !