Last modified on 4 दिसम्बर 2020, at 09:15

पासपोर्ट / महमुद दरविस / सुमन पोखरेल

तिनीहरूले मलाई चिनेनन्‌
यो पासपोर्टको मेरो रङ्ग चुस्ने छायामा।
तिनीहरूका लागि मेरो घाउ
फोटा सङ्कलन गर्ने पर्यटकहरूका लागि
प्रदर्शनीमा राखिने बस्तु बराबर थियो।
तिनीहरूले मलाई चिनेनन्‌
ओहो... मेरा हत्केलालाई सूर्यविहीन बनाएर नछोड
किनभने रुखहरूले मलाई चिन्छन्‌,
जूनजस्तै पहेँलो पारेर मलाई नछोड।
 
परको एयरपोर्टसम्म मेरो हातलाई पछ्याउने सबै चराहरू
सबै गहूँबालीहरू,
सबै झ्यालखानाहरू,
चिहानका सबै सेता ढुङ्गाहरू,
सबै घाइते सीमाहरू,
हल्लिरहेका सबै रुमालहरू,
सबै आँखाहरू,
मसँगै थिए।

तर तिनीहरूले ती सबैलाई
झारिदिए मेरो पासपोर्टबाट।
मैले आफ्नै हातले स्याहारेको धर्तीमा
के मेरो नाम र परिचय उक्किएरै हरायो?
आकाश थर्किने गरी कराउँछ कर्ण, आज –
अबदेखि कहिल्यै मेरो उदाहरण नदिनू!

ए, महाशय,
रुखहरूलाई कहिल्यै तिनको नाम नसोध्नू
कहिल्यै नसोध्नू बेँसीहरूलाई तिनकी आमा को हुन् भनेर
मेरो निधारबाट उज्यालोको सागर विस्फोट हुन्छ
र मेरा हातबाट नदीको मूल फुट्दछ।
मानिसका हृदयहरू नै मेरो परिचय हुन्‌
फ्याँकिदेऊ मेरो पासपोर्टलाई।

………………………………………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ