Last modified on 21 मई 2017, at 13:46

पितृविलाप / लक्ष्मीप्रसाद देवकोटा


(नेपालमा प्लेन दुर्घट्नामा परेका बालबालिकाका प्रति)

क.
दउगका तारा ! बाबा ! बाबा !
कलिला, उज्याला सुनगाभा !
पृथिवी झरेका स्वर्गका फूल !
हाय ! गयौ नि ! हाय ! निभ्यौ नि !
वायुयानको दुर्घटनामा, फुस्की सानो कील, चुकुल !
त्यो चुकुल हो ! विधिले ठोक्यो हाम्रा मुटुमा, हाम्रा मुटुमा !
जीवनभरको शूल, हरे ! जीवनभरको शूल !

ख.
वेदना भै, अतिशयिताले आफ्नै, मूक !
जीवन बन्दछ क्षण–क्षण सिङ्गो, क्षण–क्षण टुक !
सिङ्गो बन्दा सचेतता नै तर्सी उठ्छे निशासी !
टुक्रा बन्दा, कणी, कणी छौँ, ताता जलका,
मुटु–वासी !
दिइरहेछौँ अँजुली, पलपल !
स्वर्गमा तिम्रा कञ्चन आत्मालाई बाबा ! शान्ति मिलोस् !
नित्य, अटल !

ग.
वज्र चट्क्यो ! आगो सल्क्यो !
आशा–उपवन भयो सखाप !
भस्म ढेर भो कोमल कुड्मल—
—हरुको किरणमुखी, कलकल,
चञ्चल, सुगन्धी उछलाव !
ध्वस्त, ध्वस्त, प्रणष्ट भयो अशोकवनझैं जीवन हाय !
विस्फोटित विधु, प्रलायान्त, विखण्डित,
छरिई, खण्डहर पृथिवी जननी,
उर–दग्धाको कृष्ण सतहझैं
हरीतिमा–मृत अस्तित्व छ हाय !
कस्तो गरेछौँ अघि हा ! पाप !

घ.
विविध जुहारका धनी थियौँ जो
राजारानी रङ्क भयौँ !
तातो पानी, पङ्क भयौं !
राजसी ए ! पूmलबारीका स्निग्ध हातका मृदुल सिहार !
सुकुमार !
दृग–किरण खुशिला !
प्राण–पवनका स्पर्श–हँसिला !
शवनम–रसिला !
उच्छाल–उज्याला, मन लहरीमा !
कोमल–दार !
घुँक्का, सम्झी, बिउँझी उठ्छन्,
यी वन गिरिले देख्न नपाउने,
स्फटिक तालले राख्न नपाउने,
दिनले फेरि देख्न नपाउने,
तिम्रो अकुटिल, देव–मुहार !
झलमल, झलमल स्मृतिको किनार !
अतट छ हाम्रो ! दुःखको यो
तूफान–विघूर्णित पारावार !

ङ.
मुस्कानहरुझैं दृग–जलले
पोषिएका, कुड्मलले,
जल्नुप¥यो नि ! बाँच्छौ बोट
उल्टो विधिको हात हरे !
कम्र्मको खोट !

च.
मातृभूमिमा चुम्दा, चुम्दै, स्वर्गले झिल्की बोलायो !
क्रुर स्वर्गले ! क्रुर स्वर्गले !
पृथ्वी, लायक छैनन्, तिम्रो
निम्ति, भनेको होला यो !

छ.
ठक्कर खाँदा, तस्र्यौ होला ! बष्र्यौ होला ! ए लाचार !
हाली अँगालो रोयौ होला, आत्ती, आत्ती,
पसिना–धार
क्रन्दी, देख्दा,
धूलो, बबन्डर हाहाकार !
‘आमा’ करायौ ?
वा, ‘हे भगवन् ! विश्वाधार !’
मृत्यु, कथाझैं दूर, कुइरोझैं,
आगोको ली भीषण मुख तब
पेट्रोल–टङ्गीबाट उठेर,
गज्र्यो होला, आखिरकार !
बाबा ! बाबा ! मुटुमा फुट्छ भक्कानो नि ! सम्झी सम्झी
तिम्रो दशा, सुकुमार !
काँढाले तक नकोरिएका, बालक, कोमल, हीनाधार
काल भनेको नसुनेका, कथा गुनेका,
पृथिवी दुःखी नचिनेका !
कमिलाका फुल चाँवल खाने, कोमल करले बिनेका !
कसरी सम्झौं ? मुटु फुट्छ !
पागल चिच्यावट उठ्छ !
अविरल धारा जल छुट्छ !

ज.
बाबा ! बाबा !
हावाहरुले, हुइँहुइँ गर्दा, तर्सन्थ्यौ !
लुटुक्क काखमा निहुरन्थ्यौ !
यस छातीमा बाहिरी जग नै, आँखा चिम्ली,
बिर्सन्थ्यो !
स्वपनामा पनि रुप भयानक,
देख्दा, तिमीहरु तर्सन्थ्यौ !
तिम्रा स्वपना मीठा पार्न,
हामी निशिमा चुम्बन दी, दी,
स्नेह अगाधले निहुरन्थ्यौ !
सुते, बराबर बिउँझन्थ्यौँ
खेल बीचमा, हलुका इच्छा कुँडिँदा तिमी जब
चिर्रन्थ्यौ !
हामी, मुटुमा थर्री, थर्री,
दगुरन्थ्यौँ !
चुपचाप कस्तो म्वाइँ दिन्थ्यौ ! लिन्थ्यौ !
बाबा ! बाबा !
हामी अभागीहरुको होश र सेवा पुगेन !
नत्र तिमी किन बिर्सन्थ्यौ ?

झ.
सम्झ्यौ मुमा वा ! सम्झ्यौ बुबा वा !
डग्दा डगमग जग–जग, देही
गर्दछ आमा–बाबु याद !
लाचारीमा अन्धताले राखिरहिथी,
बाबा ! बाबा !
बाबु र आमा, दुवै अभागी !
चिम्लनलाई आँखा विधिले,
झुठा आशाको दी नाद !
हा ! लाचारी हा ! लाचारी !
सर्वस्व दिनै पनि इच्छुकहरुको भारी !
लाचारी !—
मानव–पितृको, यस पृथिवीमा, विधिका सामु
अत्याचारी !
कुन भाषाले गर्दछ जारी ? —लाचारी !
रुन्छन् यहाँ ती, चिरिँदा, धाँजा,
कलेजा, कलेजा बटारी !
कँटिली छन् यी, मटिली छन् यी, हुँडिली छन् यी पृथिवी !
फूल झरेका थोत्रा रुखहरु रुँदै खडा छन् यिनमा,
वज्रपातका दुर्दिनमा !
पर्वत–छातीमा खत छन् बाबा !
घाउ घाउ छन् भूतलभर !
केवल जलले अविरल गाना गर्दछ खोँच बनाई !
नागिनीले उरमा डस्छे आकाश पिताको हाई !
निधार ठटाई, घोप्टी हेर्दछ जगलाई !
जलका आँखा, जलका आँखा मात्र जुझ्छन्
डबकाई !
प्राण रुन्छन् यिनका, मँडरी,
बालविहतझैं, क्रन्दनमा !
हावा यिनका यहाँ ई !
ज्वालामुखीका लाभामाथि, पृथिवी, ज्वलिता अन्तरमा,
हरीतिमाले मुहार सिँगार्छिन्,
फूल उमार्छिन् ! बाबा !
मृगशावक सब बाघ बिचेत छन्
लिँदा खुशीका उफ्राइ !
भीषण बघिनी विधिले
हाय ! चबाई तिमीलाई !

ञ.
ए पेवुलका जल–बुलबुल, चाँदी–रसना चञ्चल !
बाफ भयौ !
वरदान बनीकन आएथ्यौ !
श्राप भएर गयौ !

ट.
हाय ! तिमीहरु आमा भएनौ !
हाय ! तिमीहरु बाबु भएनौ !
पितृवेदना, वियोगबीचमा,
सहने छैनौ, सहेनौ !
आँशुका घुट्का भाषाविनुका कहिल्यै पिएनौ !
पिएनौ !
आमाबाबु हुनको पीडा, स्नेहवेदना, नभको, भुको,
बुझेका थिएनौ, थिएनौ !
मुस्की नयाँमा ।
फुस्की बास्ना ।।
जिस्की हवामा ।
पृथिवीलाई सुख–उपवनझैं चहारी, विहारी तृप्त थिएनौ !
जादूजाली डाली जगमा, चिन्ता लेश लिएनौ !
इन्द्रेनीको राज्य भनीकन, कुलिश–सचेत रहेनौ !
नख चञ्चुलोहिता प्रकृति न देख्यौ, बाज न, गिद्ध न, बाघ न,
चील !
श्याल न, सर्पको विल !
प्रौढहरुको मम्र्माहत दृग जलको जहर पिएनौ !
बिपना, स्वपना सँगसँगै चाल्यौ !
तोतेली स्वर्गमा पृथ्वी ढाल्यौ !
शूल छिपाई मुस्किन लायौ हामीलाई !
सुख मान्न सिकायौ हामीलाई !
करको कोमल शीतलताले मलम लगायौ प्रौढहरुको
ब्रणलाई !
शान्ति बनायौ रणलाई !
आशावादी मरणहरुलाई !
तर हाय ! तिमी नै अन्तध्र्यान !
तारा–ज्यान !
काँप्दछ हाम्रो प्राण, काँप्दछन्
हाम्रा आशा, हाम्रा ज्ञान !
असह्य हुन्छिन् पृथिवी फेरि, अनल समान !
अनल समान !

ठ.
पाएनौँ नि प्यार यथेष्ट गर्न तिमीकन,
रत्नहरु !
विफल भए सब शुरुदेखिका, प्राणहीन छन्
प्रयत्नहरु !
तर्साउने यो घर भो ठूलो आकाश छद !
छाया सारा,
मानिस, बस्ती, वस्तुहरु !
दुई आँखा छन्, नखलिस्तान, शेष रसका याद भल !
सन्नाटा अब गर्दछ बास,
जहाँ देवदूतको मीठो खलबल !

ङ.
तस्वीरमा छौ !
एक छिनको तिम्रो जीवन झलकिन्छ !
निमेष जहाँ एक छायामाथि
उड्दा, उड्दै अडकिन्छ !
केवल गह यो डबकन्छ !
बोलन ! बोल ! मौन छिचोल !
मधुर अधर ती खोल
रोउन ! हाँसन ! चलन ! ए ! उछलन !
ढल्कन ! डोल !
पलक उचालन ! पलक ओरालन !
ताजूबीले चौडा आँखा पारन !
खोलन ! खोल !
अथवा रोउन, इच्छा कुण्ठित,
आँशु झार ए अनमोल !
तोते कुराले
कम्प अनिल अलि !
बदलन मुद्रा ! मुख खोल !
अनन्त निद्र आई छोपी
आह ! तिमीकन !
सुत्छौ निश्चल, शब्द न सुन्छौ !
सकल अबोल !

ढ.
वेद स्नेहका ! सत्यका रक्षक !
जगताधार !
कोमलताका लताका पुष्प !
बिस्र्यौ आमा, बिस्र्यौ बाबु,
बिस्र्यौ संसार !
ण.
कोही बच्चा कराइरहेछ झप्रोमा त्यो नजीकमा !
सारा बच्चाहरुमा घुसीकन बोलिरहेछौ ए बाबा ?
बाँचिरहेका बच्चाहरुको सामूहिक एक आत्मा गर्छ,
“आमा–बाबु !” पुकारा !
एक झझल्को, एक छचल्को जलको,
आँखाको यो फाँद बनाई पृथिवी ढाक्ने
अरु बाबाका, अरु आमाका,
हृदयहरुमा हृदय घुसाई, हामीलाई,
गर्छ विचित्र, दिलामा सदृश,
अन्तिम एक इशारा !

त.
आँखाका जल खोज्दैछन् अझ, ढुँढ्न तिमीहरु, झर्दै छन् !
बच्चा गुमेका आत्मा चरी दुई प्रश्नले जग भर्दै छन् !
रातका आँखा कोर्दै छन् !
पृथिवी हुन् यी कस्ती डल्ली ? के हो यो संसार ?
नाशपाती घुमाइरहेछन् ज्योतिहरुले किन यी हजार ?
कसरी आउँछ, कसरी हराउँछ,
मानव कोपिला, बास्नादार ?
आकाश बनाई ढकनी नीलो,
कसले छोप्दछ , किन संसार ?

थ.
छैनन् मरेका भनन ! ए तारा !
तिमीझैं सारा सुन्दर थिए !
ज्योतिका मीठा मन्दिर थिए !
छन्, छन्, ती छन् !
लुगा फुकाली, नाङ्गा हुन्छन् केवल !
शिशु–तारा–दल ती ! तारादल !
नन्दन घुम्छन् !
झिम्की, चम्की, साना, नाना ज्योतिका नाना लगाई,
अमर छुरछुर गर्छन् !
जलबिन्दु धराका, आपूmपछिका, आपूmतलका,
सम्झन्छन् !

द.
के ती हामी दुःखीकन सम्झी
कहिल्यै रुन्छन् ?
होइन, होइन, ती नाताभन्दा ज्यादी पर छन्,
मुस्कन्छन् !
पृथिवीको यो बाफ हो जलको वातावरणमा केही दूर !
यी पग्लन्छन् ! यी पग्लन्छन् !
तर ती त्यसका माथि उठेका
सँग्लन्छन् !
स्वर्गका देउता, तिनका आँखाबाट झरेका,
सुखका कनिका टिप्दै जिउँछन् !
हामीहरुकन भेट दिनेछन् !
दिन्छन् !
थाहा छ तिनीकन, दुई मूर्ख परेवा
—माऊ गुँडमा रुन्छन् !
चुम्बन फँकी भन्छन्, “न–रोओ !
तिम्रा पनि ता क्वै दिन छन् !
आमा–बाबु पनि त धराका
बादलपारि, आँधीपारि,
बच्चातिर, पछि उत्रन्छन् !”

ध.
यत्ति कल्पना, यत्ति भावना,
आशा हुन्छे,
बुझाउँछे मन !
शीघ्र देखियोस् लैजाने पाल, तरुणी निकट होस्,
रे प्रतिक्षण !
शेष समयको माग पु¥याउन, भार वहनमा बस्छौँ !
अनि लहरी जब सन्चो होला,
बन्दरगाहको तल खस्छौँ !
भुलभुल आउँछ, भुलभुल आउँछ,
पानी मन यो,
अज्ञानी मन !
पानी मन यो, बूँदबूँदमा
कण, कण !
ज्वलनको सीमा नाघेका ती,
अम्लान वनतिर लागेका ती,
हाम्रा छैनन्, हाम्रा थिए जो,
विश्वम्भरको डर, यो गगनको विशालतामा,
चम्कन्छन् !
हरि र रमाले आँशु पुछेका !
नङ्गा आत्मा,
कुल्चिरहेका अमरवल्लीहरुका हाँगा
पातमा,
आँशु पुछीकन भेट्छन् !
“बाबा ! बाबा !” भन्दै उडौँला हामी आखिर !
भेट्न नबिर्स बाबा !
हृदय यहाँ बा बाबा ! बाबा ! काँढा उपरमा
लेट्छन् !