पिनासेले पिनासीलाई
साह्रै दिक्क भएर भन्यो-
तेरै मरञ्च्यासे सपनाहरूले मलाई नंपुसक बनायो !
धुँवा गुँडुलिएको मझेरीमा
खिइएको सारङ्गीको धुन
दुई टोड्का आँखा टलक्क टल्क्यो
र झ्याप्प बन्द भो
फेरि खुलेन ।
घरभरि घुमिरह्यो
निस्तो गन्ध !
साँझ सबेर पिनासी पिनासेलाई पिलाउनै सक्छे
एक एक चम्ची उत्तरआधुनिक आँसुको टानिक !
यतिमा नै पिनासीको कथा
टुँगिदैन,
छातीको गहिरो नूनिलो दहमा
हरेक दिन डुब्दै उत्रदै गर्ने
उसका सपनाहरूको मरञ्च्यासे आयु अझ लामो छ ।
हर दिन ढल्दै जाँदा पिनासेले जब धिप्रीको उज्यालोलाई
कैलो हुँदै गरेको देख्छ तब बल गरेर झोँक्किन्छ,
तेरै अलछिना इच्छाहरूले मलाई लबस्तरा बनायो !
हरदिन
एक एक डाडु उघाएर पिनासीले
पिउनै सक्छे
आँसुको मनोवैज्ञानिक अमिलो खुराक !
तर पिनासेको पुरुषार्थ जाग्दैन !
............................................................................
रचनाकाल १२.०३.२००३