अँध्यारा औँसीहरू अनिष्टका सगुन बाँढ्दै छन्
बस्तीहरू जून प्रतीक्षामा
एउटा युग पर्खिरहेछन्
विचारका निर्जन यात्रापथहरूमा
एउटाएउटा प्रदूषित बागमती सुसाइरहेछ
यात्राको नाममा थाहै नपाई
एउटा कालखण्ड सपना बनाइएछ
मान्छेले चिरनिद्राबाट ब्युँझने उपक्रम गर्दानगर्दै
शोकगीतका भाकाहरूले गाँजिइसकेछन्
मनका पाखापखेराहरू।
दुस्वप्नको सँघारबाट अझै अतीत चिहाउँछौँ हामी
जङ्गे हात्तीपाइतालामुनि भावनाहरू निस्सासिनुको पीडा
लेखाइमा कहाँ व्यक्त हुन सक्दोरहेछ र !
बिलखबन्द मन
मात्र घाउ सुम्सुम्याउँछ
मात्र पीडा थुम्थुम्याउँछ
गोलको नाममा
भावनालाई भकुन्डो बनाएर
बज्रलात प्रहार गर्छन् राक्षसी खुट्टाहरू
सहनुको अर्थमा खै!
अझै कति कायरतामा अनुवाद गर्ने हो आफैँलाई ?
विद्रोहको ज्वालामुखी त कहिलेकाहीँ
यसरी पनि फुट्न खोज्दो रहेछ।
थाहै भएन कहाँ के भयो ?
एक आँखा हेर्न नपाउँदै सौन्दर्यमा कालो पोतिएछ
धीत मारेर गाउँन नपाउँदै
निमोठिएछन् घाँटीहरू
अचम्म लाग्यो!
मान्छे मान्छेजस्तो रहेनछ, अर्कै भइसकेछ
बस्ती बस्तीजस्तो रहेनछ, अर्कै भइसकेछ।