Last modified on 31 अगस्त 2020, at 14:54

पुकारा / महानन्द सापकोटा


एकलै छु कविते! तिमि आऊ,
यो तिखो विरह-वन्हि निभाऊ,
स्वादिलो प्रणय-अमृत-पान
गर्न देउ कविते अविराम !

अन्धकार छ जगत् बिजुलीले
थामि-थामिकन हाँसिदिनाले
मेघमा मधुरिमा झलकन्छ
चित्तले प्रणयिनी समझन्छ ।

काखमा जलदका बिजुलीको
लाड देखि मनमा विरहीको
माधुरीमय गत स्मृति आई
आँसु झार्छ कति चाल नपाई ।
 
आउ शीघ्र कविते तिमि आऊ
शून्य यो हृदय पूर्ण गराऊ ।
वासना अब उभोतिर लाग
उच्च उच्चतर होस् अनुराग !

सुस्त सुस्त छिन भौतिक पाश
भोगबाट मन पारि उदास,
छिन्न तार फिर जोरिन पावस्
एकतान मधुरो स्वर आवस् ।

आदर्श (कालेबुङ) १९८६