तिम्रो सम्झनाले
किन यसरी एकाएक
धपाउँछ सिरेटो मनबाट, र
आफूलाई बाँधिराखेको हिउँ पराजित भएर पग्लिभागेझैँ
मुस्काउँछन् अधरहरू?
धर्ती, आकाश, समय र सम्बन्धहरूको निस्सारताबाट बिरक्तिएर
कुनै पलायनको बोरामा कसी आफूलाई
जीवनको कुनै भीरबाट फ्याँकेर फर्किआऊँझैँ भएको बेला
टाढा कतैको तिम्रो उपस्थितिको आभास मात्रले
किन जुर्मुराउँछ फेरि रहरजस्तो केही
र नज्यूँदो बाँचिरहेको समय एकाएक जीवनमय गुन्जिन्छ?
जीवन यस रूपमा आफूभित्र समाहित भएको थाह थिएन,
फर्केर हेर्दा
विगतका कुनै कुनामा मायाको अनुभव पनि देख्दिनँ।
छैनौ सामु तिमी यस बेला
कसलाई सोधौँ,
जीवनले मायाको सिर्जना गर्छ
वा मायाले जीवनको?