Last modified on 15 फ़रवरी 2022, at 10:01

पुनर्जन्म / कुन्दन शर्मा


एउटै पृथ्वीमा
एकफेरा मात्र बाँच्न पाएको
जीवन
म फेरिफेरि बाँच्न चाहन्छु ।
यो लोभ, तृष्णा
यो आकर्षण, आकाङ्क्षा
त्याग्न सकिनँ मैले कसै गरी पनि ।
भन्छन्, पुनर्जन्म हुन्छ यहाँ
तर आफूले नभोगेका कुरा
मनले मान्दैन
कसैलाई फर्केर आएको यहाँ देख्दिनँ ।
तर म त आउन चाहन्छु
जाने इच्छा नै छैन मेरो
कसै गरी यहीं बाँचिराख्न चाहन्छु ।
तसर्थ असम्भवलाई सम्भव पार्न
सङ्कल्प गरेको छु मैले
आफ्ना अङ्गअङ्ग मरेपछि
चाहिनेलाई दान दिन
र मरेर पनि बाँच्नेछु म यसरी
पुनर्जन्म लिनेछु अरूमा फेरिफेरि ।