Last modified on 21 अगस्त 2020, at 21:27

पुरी / आद्याशा दास / सुमन पोखरेल

पुरी,
अपूर्ण हुँदा पनि पूर्ण छौ तिमी ।
तिम्रा बडादण्ड, बडादेउला, बडाठाकुर, बडाप्रसाद।
विशाल समुद्रले धोइदिन्छ तिम्रा गोडा
सर्वविशिष्ट तिम्रो श्रद्धावली,
चार वर्णदेखि चार आश्रम
कोइली बैकुण्ठदेखि स्वर्गद्वार
जहाँसुकैदेखि आएर जतिसुकै भक्तहरू
यसको अनन्त गहिराइमा डुबे पनि
जोडिन्छ जब सनातनसँग सनातन
भरिन्छ हृदय श्रद्धाले।
श्रद्धाको अनन्ततामा
तिमी एक्लो पूर्ण छौ
जीवन र मृत्यु दुबै हौ तिमी ।

पुरी,
तिम्रो अपूर्ण ईश्वर
सुन्दर छ हरेकका आँखामा
पूर्णरूपले अपूर्ण
अपूर्णसँग पूर्ण
भरिदेऊ रिक्त स्थानलाई
पूर्णताको नटुङ्गिने चमकले
खोलिदेऊ तिम्रा बन्द चारद्वार
परिणति जस्तै, तिमी सबै थाह पाउँदछौ
केही थाहै नपाई ।

पुरी,
घटाऊ पूर्णबाट पूर्ण
बाँकी रहन्छ पूर्ण नै
झिक अपूर्णबाट अपूर्ण
बाकीँ रहन्छ पूर्ण नै
फेर कहिल्यै नफर्कने गरी
फर्किएका छन् असङ्ख्य यात्रीहरू
लिएर अँजुलीभरिको श्रद्धा
तै पनि श्रद्धेय रहिरहन्छ तिम्रो बडादण्ड ।
 
पुरी,
के तिमी एकछिन मौन रहन सक्छौ?
के तिमी अखण्ड भजन, किर्तन, झाञ्जा र करताल रोक्न सक्छौ?
युद्धको क्रन्दन सुन तिम्रो बडादण्डमा
असहायहरूका दुखिरहेका वेदना
तिम्रो समुद्र कतिविध्न उदण्ड र अनियन्त्रित !

पुरी
प्रहार गर तिम्रो सिँहद्वार स्वर्गबाट
होचो पृथ्वीमा
थाह छ तिमीलाई
तिमी नै हौ सनातन प्रारब्ध ।