उनीहरू
आफैंले बनाएको त्यो अग्लो टावरमा
उक्लिरहेछन् लिफ्टबाट,
हेरिरहेछन् एउटा कुनामा
कैद गरेर हरिया, पहेँला र राता
रङ्गीविरङ्गी फूलहरू
नीला–नीला पर्वतहरू
र इन्द्रेणीजस्ता दृश्यहरू पर्दामा,
हामीहरू
गाईगोरु धपाउँदै
गीत गुन्गुनाउँदै
थुम्काथुम्की उक्लिरहेछौं
बादल, हिमाल र शृंखलाहरू पहाडका
हेरिरहेछौं,
तिनीहरूले टावरको टाउकोमा
लहरै उभिएर हेर्न खोज्नेछन् दृश्यहरू
तर आफैंले निर्माण गरेका
संयन्त्रले ओकलेको धुवैंधुवाँको
कालो मुस्लोले ढाक्नेछ दृष्टिहरू,
त्यहाँ
खोला, पहाड
हिउँ र हिउँचुली केही देखिनेछैन
त्यहाँ
झरनाको संगीत सुनिनेछैन
र भेटिनेछैन
जिन्दगीको गीत र सन्तुष्टिको स्पर्श,
आकाशको नीलिमा
र धर्तीको हरियो पस्मिना नदेखेपछि
टावरमा–
पहाडमाथि उभिनुको आनन्द नभेटेपछि
या उकाली उक्लेर छहारीमुनि
सिरेटोले चिस्याउँदाको अनुभूति
पंखाको तातो हावाले नदिएपछि
तिनीहरूलाई सर्वथा
आडम्बर लाग्नेछ जिन्दगी नै,
रोबोटजस्तो हुनुपर्दा
वितृष्णा जाग्नेछ टावरसँग
कृत्रिम रङ
दृश्य र विश्वाससँग,
जतिजति चढ्दै गयो उचाइ
उतिउति बढ्दै जान्छ कहाली पनि !
अनि निःसास्सिदै टावरको अग्लाइबाट
उनीहरू
क्रमशः तल झर्न थाल्नेछन्
त्यहाँबाट फर्केर
उनीहरूले हिमाल खोज्नेछन्
हिउँ र पहाड
लेख, बेसी र लहलह फाँट खोज्नेछन्
जिन्दगीलाई जिन्दगीजस्तो भोग्न
हामी उभेको शान्त थुम्को रोज्नेछन्,
त्यसबेला
हामीहरू भने त्यो अग्लो टावरतिर
क्रमशः अघि बढिरहेका हुनेछौं ।