Last modified on 16 मार्च 2017, at 09:08

पृथ्वी अनि म / मनप्रसाद सुब्बा


१. पृथ्वीको निमित्त
पृथ्वीमै पलाएको
पृथ्वीको म

पृथ्वीको पृष्ठमा अक्षर हिँड्छु

पृथ्वीबाट पन्सिने कुरा जति सुन्छु
उति नै म
दूधमुखे नानीको हातले
पृथ्वीको स्तन पक्रिराख्छु

२. पृथ्वीको पीठमा बुइ चढेर
घाम झुल्केको हेर्छु
घाम डुबेको हेर्छु
झुल्किनु-डुब्नुको देउराली-भन्ज्याङ्ग
उक्लेर – ओर्लेर कहिल्यै थाकिनँ
त्यतैतिर उम्रेका प्रश्नहरुका उन्युघारीबीचबाट
उन्युकै मुन्टा
कोटको बटनहोलमा सिउरेर
हिँड्छु पृथ्वीसँगसँगै रातका खाडलहरू नाघ्दै

जति तिमी पृथ्वीपारिको अपार्थिव कुरा गर्छौ
उति नै म चैं
रुखका जराहरुसित भित्रभित्रै फैलेर
पृथ्वीको काखभित्र घुस्रिरहन्छु


३. कहिले जरैसित उखेलिएर म
शरणार्थी घस्रिनुपर्दा
सुकुम्बासी सुक्खा आँखामा
पृथ्वीबाटै पृथ्वी हराएको हुन्छ
तर फेरि किन हो आफ्नै छातीमा
पृथ्वी पल पल ढुकढुकिरहेको थाह गर्छु

४. अहिले म
पृथ्वीकै छातीमा
दूबोको यौटा सानो सुइरो उम्रेर
पृथ्वीकै एक अङ्ग छु ।