Last modified on 16 जुलाई 2017, at 16:37

प्रकाशपुँज / सविता गौतम दाहाल


मिठासको अनुभूतिले छोपियो आकाश
र उदायो मनभित्रको बिहानी
मनभरी न अटाएर पोखिन्छ घाम
छातिको गैंरी खेतमा
अनि आँखाको गहिरो नदिमाँझ ।

भावका सारा प्रकाश
वरिपरि लालिमय भएर
कुनैपनि छायाँनै नभएको मन
कति हेरुँ हेरुँ बनेको छ ।

उज्यालोले सर्वत्रढाकेपछि
शेष केही रहेन
न कुनै चाहनाको अन्धकार
न कुनै बहानाको वार ।

अदितीय यो प्रकाशपुँज
जहाँ एकाकार भएका छन्
मायाले भरिएका मन फूलहरु
प्रकृतिमै फुलेका वन फूलहरु
छाया विनाको घाम
धरामै उत्कृष्ट नमुना बनेको छ ।

हतार विसाएर मनहरु
आलोकित छन्
सारा पीडाका विशानु
सौर्य किरणले शुद्ध हुनपुगेका
दर्द दासत्व केही छैन
छ त केवल !
अनुभूतिको चहकता
र अचेतन मनको प्रदिप्ता ।