प्रकृतिको काखमाथि बालापनको झल्को
याद सधैँ आइरहने उमेर भने ढल्क्यो
सङ्गिनीको साथसाथै वनपाखा घुमी
बित्यो बालापन पनि यौवनले चुमी
काफल टिप्दै थाकी वनमा पानी पिउँथ्यौँ मूलको
याद सधैँ आइरहने उमेर भने ढल्क्यो
ऐँसेलुको घारीघारी चहारेर सारा
पहाडको माथिमाथि पुग्थ्यौँ टाढाटाढा
डराएर दौडी आउँदा पसिनाको खल्को
याद सधैँ आइरहने उमेर भने ढल्क्यो
गाउँदै गीत साथी सङ्गी अल्लारेको पन
साँझ बिहान थर्काउँथ्यौँ आफ्नै रनवन
कसरी हो आगोसरि यो जवानी सल्क्यो
याद सधैँ आइरहने उमेर भने ढल्क्यो