आकाशमा ताराहरू छन्,
धरतीमा किन छैन ?
भएको भए खल्तीभरि
तिनै ताराहरू लिएर जान हुन्थ्यो,
अफिसबाट घरमा
ती साना छोराछोरीलाई
एकेकोटा बाँड्न हुन्थ्यो,
र भन्न हुन्थ्यो— “यो प्रजातन्त्र हो—
ल, उपभोग गर ।”
छोराछोरीले ती ताराहरू के गर्दा हुन् ?
छोराछोरीले प्रजातन्त्रलाई के गर्दा हुन् ?
— बगैँचाको फूल ठानेर
कपालमा सिउरिँदा हुन् कि ?
— काँचका गुच्चा ठानेर
औँलामा राखी खेल्दा हुन् कि ?
या त दुधिलो चकलेट ठानेर
मुखमा राखी मर्याङमर्याङ टोक्दा हुन् कि ?
— हावाको भकुन्डो ठानेर कि नभए
त्यसैलाई लात्तीले हानी मिल्काउँदा हुन् कि ?
म बुइँगलमा छु,
उनीहरू तल आँगनमा छन् ।
नत्र म तिनीहरूलाई भन्ने थिएँ—
“बाबूहो। यसो नगर,
बरु, सबैले आ–आफ्नो तारा
एकै ठाउँमा बटुलेर राख
— त्यसले
कमसेकम हाम्रोघर त उज्यालो होला ।”