यो पहाडको उकालीमा
पसिनाले भिजाएको निधार पुछ्न
एउटै पनि रुमाल बाँकी रहेनछ मसँग !
मेरो स्वागतमा फर्फराउने भञ्ज्याङको वरपीपल
मलाई सातु र सखर खुवाएर
चिसो पानी पियाउने पौवाका पौवारी बाजे
रात्माटोले लिपेको पेटीमाथि
आनन्दको अलौकिक सिँढीहरू उक्लेर
पहेँलो घाम हेर्दै सुस्ताउन खोज्ने
मेरा आँखाहरूको अन्तिम स्पर्श
मैले टेकेको यो बारुदको बाकसमा
बने हुन् कि कतै ती
सुरुङ मार्गका अन्तिम गन्तव्य !
यो साँझमा
फर्किरहेछु पुरानै ठाउँमा नयाँ बाटो भएर
चराहरूको यो खलबल
सडकभरि छरिएका यी वैजनी फूलहरू
लाग्दैथ्यो पर्खिरहेछन् मेरो यो आगमन
प्रवेश गरेपछि यो सहरमा
गौँडा गौँडाको जाँच पड्ताल
प्रवेश निषेधको पूर्व सूचना
म बुझिरहेको छैन यी नियम र काइदा कानूनहरू
के म पुरानै मुद्धा फर्स्यौट गर्न आएको
कुनै आकस्मिक दुर्घटना झैँ त्रासद देखिएको छु?
म भानुभक्त आचार्य !
मेरो लिङ्ग, जात र धर्म- सबै नेपाली
मेरो जन्मसँग असहमत हुन सक्दिन म !
मेरो धर्तीलाई तिरस्कार गर्दिन
म तिम्रो वंशको कोखबाट नयाँ भाषा बोलिरहेको छु
बुद्ध, जिसस र पैगम्बरहरूका साझा भाव बोकेर
वेद, त्रिपिटक, बाइबल र कुरानलाई
दायाँ मस्तिष्कले परिशोधन गरिरहेछु
र निकालिरहेछु अन्तरको एउटै बिजुली
टाढाबाट आइरहेको मेरो आवाज
तिम्रै हृदयको प्रतिध्वनि हो
सुन्न सक्छौ एकैछिन
यो भीडबाट छेउ लागेर?
सायद म तिम्रो मौनतालाई
नयाँ आविष्कार हुनसक्छु !