सहरले केही दिन पाहुना डाक्यो। सायद
त्यसैले हलोजुवा थन्काएर एकातिर
सबै समाजिक अवमूल्यनहरु पनि पलायन भए सहरतिरै समृद्धि कमाउन
बुढी गाउँ मात्र हर्दम एकली सधैं
हरेक प्रहर सहर खोज्न हिंडेका छोरो धनसिङहरु र
छोरी गुनासरीहरुका विरहले क्षुब्ध
आफ्ना चिथ्रा चिथ्रा फाटेका कपडाले छोप्न नपुगेर सर्वाङ्ग
आफैदेखि पनि भागिरहेकी छे लाज मानेर त्यो बुढी गाउँ
सम्झना गर्न छाडिसकेकी छे उसले हिजआज
-गोठको नजिक सखारै एक भारी घाँस
चिलाउनेको सियाँलमुनि थाकेका सुसेलीहरु
भुटेको मकैको दाउनी भएर सिन्कीको झोल
कठै सकी नसकी भुईं टेकेर उभ्ने बिफल उसको प्रयास यहाँ
अनि सहरको अट्टहासअगि आत्मसमर्पण पनि कराइरहेछ
-उसका तमाम सपना उसका तमाम इच्छा तमाम प्रतीक्षा उसका
एउटा भयानक रहस्य लुकाएर पछिल्तिर
पलायनहरु सबै निल्न उदाङ्गो छ सहरको मुख
अनि जति जति बोझिल बन्दै जान्छन् आँखाहरु सहरको तिलस्म पिएर
त्यति त्यति सहरले सहरलाई सहरभित्रै खोजिरहेको हुन्छ
-कुनै मोडमा एक खोल माचिस भएर
-लास भएर गल्लीनिर कुनै अपरिचितको
-कुनै होटलको कोठाभित्र सम्भोगहरु उच्चिएर
मेलोबाट फर्किँदा मनमायाको घर निस्की
सिकुवाको डीलमा एक मग कालो रङ्ग
केही थकान र गफहरु
-त्यहाँ कहिल्यै नखोज्नू सहरलाई
जहिल्यै एक पैसाभन्दा बेसी भएर मात्र
मुस्कान बेच्दछ सहरले
सहर सधैं अँध्यारो आकास छेलिएर
हिमाल नभएर सहर सधैं उत्तप्त पनि
उज्यालो देख्दा मुख छोपी छप्छप्ती अँध्यारैतिर मात्र दगुर्छ सहर
-डे अफ दि ज्याकलका चक्चकीहरु
-जग्जगीहरु दि बार्न आइडेन्टिटीका
यसैले बिर्खसिङकी आमा बिरामी पर्दा
सहानुभूतिको नाम्लो लिएर बोक्न जाँदैन सहर
कालुमानको घर डड्दा बोकेर आउँदैन
सहरले सद्भावनाको आँसु पनि
यसैले सहरभित्रै हिंडिरहेर पनि कहिले नपुग्नुको सत्य हो सहर
ब्ल्याकहोल गमनको पीडा खप्नु हो त्यो गन्तव्यहीनता
बग्दै बग्दै बग्दै गाउँहरु यसैले
अनुवाद नहुनू सहरमा कहिल्यै
कोलाहलका घातहरुले मर्माहत भएर कुनै दिन
कुनैदिन डाम्रैडाम्रा बोकेर एकलोपनको
शीतलता खोज्दै फर्किने आत्माहरुलाई
गाउँतिर जाने बाटो निर्धक्क देखाइदिनू-
जहाँ उसकै बाटो कुरेर कुक्कुको संगीत बज्दै
नृत्यहरु नाच्दै पुतलीको
रुँदै पनि आमाको खुशीहरु ओतप्रोत
पर्खिरहेको हुनेछ हाम्रो अवहेलित गाउँले
मरणान्त पर्खिरहेको हुनेछ।।