Last modified on 12 सितम्बर 2024, at 18:19

प्रतीक्षा / महेश मास्के

तिमी
खहरेको मिठो संगीत
ढुंगे बगर
र पानी भर्न लागेकी तरूनी बाल। माथि
कविता लेख भन्छौ
तर जब म
उसका फाटेका लुगा
लुक्न नसकेको विवश यौवन
र त्यसमाथि लिप्सिएका ठालुहरूका कामलोलुप दृष्टिहरूको
कविता लेख्छु
तिमी मेरो कलम भाँचिदिन्छौ

तिमी
विशाल हरिया फाँटहरू
बिस्तारै हल्लिरहेका धान र गहुँका बालाहरूमाथि
कविता लेख भन्छौ
तर जब म
ती फाँटहरूलाई हरियो बनाउने
दिनभरि हाड घोटेर राति भोकै सुत्नु पर्ने
श्रमजीवीहरूका रित्ता पेट र ठेला उठेका हातहरूको
कविता लेख्छु
तिमी मेरो हत्केलामा नेल ठोक्छी

तिमी

फूलको सौन्दर्य
जीवनको मुस्कान
र स्वच्छ आकाशमाथि कविता लेख भन्छौ
तर जब म कुल्चिएका कोपिलाहरू
रोदन र सुस्केराहरू
बारूद मिसिएका काला बादलहरूको
कविता लेख्छु
तिमी मेरो औंला काटिदिन्छौ

तिमी ठान्छौ
 मैले तिमीलाई चिनेको छैन ?
तिम्रा सशंकित, कम्पित औंलाहरूले च्यातेका
मेरा हरेक हरफका टुक्राहरूले
तिमीलाई उदाङ्ग पारिसकेका छन्
 मलाई रोक्न तिमीले गरेका दमन र अत्याचारले
तिम्रो सक्कली अनुहार देखाई सकेका छन् ।

तर कवित।
मेरो मुटुको रगत
मैले भोगेको जीवनको व्यथा
मैले कोरेको समाजको तस्वीर
मेरो सपनाको प्रतिविम्व ...

गाउने छन् यसलाई
परिवर्तनका चाहना बोकेका
हरेक जोशिला धुकधुकीहरूले
क्रान्तिका मशाल उचालेका
हरेक इस्पाती हातहरूले
संघर्षमा खारिंदै गएका
हरेक विप्लवी संकल्पहरूले
बाक्ला जङ्गल र पहाडहरूबीच
जेलका अँध्यारा कोठामा, यातनाको संगीत संगसंगै .........

मलाई विश्वास छ
एकदिन यो देशको माटोले पनि
एउटा विशाल परिवर्तन जन्माउनेछ
शोषणका जगहरू हल्लाउँदै यहाँ
चेतनाको भूकम्प आउनेछ
हो त्यति बेला
विजयी उत्पीडित वर्गले
सजाउने छ तिम्र। हातहरूलाई म्यूजियमको एउटा कुनामा
आउने सन्ततिहरूलाई याद दिलाइरहन
कि इतिहासको एउटा कालमा
यो देशका उज्याला कविताहरूलाई
अँध्यारो कुनामा फ्याकिने गरिन्थ्यो र
 कविता लेख्ने हातहरूलाई
यस्ता पञ्जाद्वारा काटिने गरिन्थ्यो

मलाई थाहा छैन
कहिले आउनेछ त्यो दिन
तर निश्चय नै आउनेछ एकदिन
अँध्यारो रातपछि झुल्कने स्वर्णिम विहान झै
त्यो दिनको आशा तिम्रा यातनाहरूभन्दा बढी सशक्त छ
त्यो दिनको विश्वास तिम्रा दमनहरूभन्दा बढी सशक्त छ ।

०००

दरभंगा
प्रकाशित "स्पन्दन अंक २