Last modified on 6 अगस्त 2017, at 11:24

प्रत्यागमन / श्रवण मुकारुङ


कुन दुःखले उनेको यो माला पहिरिने मान्छे नफर्कदै
तिमी माटो भइसक्नेछौ
तिम्रो कोमल हृदयको अनुहार भएर
आँसुसरिको यौटा सिमल उम्रिनेछ
र त्यसको अभागी हाँगामा सधैँ घाइते चखेवाले रात काट्नेछ

तिम्रो कुमारी सपनाको सूर्यले आत्मदाह गरेको आकाशको
नेपथ्यमा
उसका आदर्शका आभाहरू चिथोरिनेछन्– प्रेमका जर्जर तारहरूले
ऊ ढल्नेछ र उसको इच्छाको समाधिबाट उठेको शोकधुन
खुनैखुन हुनेछ क्षितिजमा

तिमीलाई सम्झिनै नसक्ने गरी बिरानिएर/देख्नै नसक्ने गरी
अन्धिएर
आइपुग्नेछ : यौटा सम्भावना
र उसले तिमीलाई खोजिहिँड्नेछ–
तिम्रो जीवनका प्रत्येक विपक्षहरूलाई कुल्चिँदै
टाकुरा
गडतिर
र पनेला रातका पहाडहरूमा

रात छिप्पिँदै जानेछ
र रातले– तिम्रो सङ्गी त्यो खोलालाई बाँसुरी बनाउनेछ
पहाड टाढिँदै जानेछ
र पहाडले– तिम्रो सङ्गी त्यो गोरेटोलाई मफलर बनाउनेछ
यी रात र पहाडको निरङ्कुशतालाई
निर्दोष रुवाइको चक्कुले छेक्लाएर सोध्नेछ उसले–
 ‘खोइ मेरो सपनाको आधा भाग... ?’
 
तिम्रो कण्ठ रोकिनेछ
र ऊ अथाह विपत्तिको एक बुद्धझैँ
सिमलका यी अभागी हाँगाहरू लतार्नेछ
त्यसका बैजनी पातहरूले–
आफ्नो छातीमा लागेका आँसु र खुनहरू पुछ्नेछ
मेट्नेछ : शून्यका दाग र पुर्खाका पदचिह्नहरू
र उम्रिन थाल्नेछन् फेरि फूलहरू ।