मैले तिमीलाई जीवनको परिभाषा सोधेँ
तिमीले बग्दै गरेको खोलालाई देखायौ
मैले तिमीसँग मृत्युको परिभाषा मागेँ
तिमीले त्यही खोलाको बगरलाई देखायौ
मैले तिमीलाई प्रेमको अर्थ सोधेँ
तिमीले लजाउँदै गरेको कोपिलालाई देखायौ
मैले प्रश्न गरिरहेँ
तिमीले जवाफ दिइरह्रयौ
सवाल–जवाफमै सन्तुष्ट भयौँ हामी
प्रेमको नाममा कोपिलालाई देखाएर
तिमी स्वयम्नै पत्थर भयौ
जिन्दगीको नाममा खोलालाई देखाएर
तिमी स्वयम् नै गतिहीन भयौ
तर खोलो हिजोजस्तै बगिरह्रयो
कोपिलाले लजाउन नै सिकिरह्रयो
बगर सदाझैँ उजाड थियो
तर यसबेला भने
न त तिम्रो जवाफ थियो
न मेरो सवाल थियो
प्रकृतिमा जे थियो
त्यो नै यहाँ सत्य थियो।