आँखामा चोरेर हालूँ ?
कि मनमा सोहोरेर भरूँ?
ए देश ।
कसरी म तिमीलाई
आफूसित लगूं ?
हुन त, यहाँ पनि
जहाँ पनि
उही माटो छ
आकाश उही,
उही पानी छ
बतास उही
तर केही त फरक छ
केही फरक भइदिन्छ
खै कुन्नि, कता कसरी !
अरू आकाशमा
आफ्नो क्षितिज देख्दिनँ
पाउँदिनँ बादलमा मेरा सपना
बतासले ल्याउँदैन अरू कतै
परिचित बास्ना,
मानिसमा भेट्दिनँ कोही आफ्ना
र फर्केर आउँछु फेरिफेरि
ए देश !
म तिमीकहाँ ।
यो माटोले च्याप्छ मलाई
आमाको काखझैँ
बाटोले बोलाउँछ यहाँ
मायालुको आँखा भई
खोलानालामा बगेको छ
मेरो जीवनको प्रवाह जहाँ
त्यो पहाडको फेदीमा बसेको छ
मेरो गाउँ, मेरो घर त्यहाँ ।
तिमीलाई छाडेर
म तिम्रो भइनँ
अरूलाई पाएर पनि
म अरूको हुन सकिनँ
ए देश !
कसरी बिर्सूँ म तिमीलाई भन ?
कसरी पाऊँ म तिमीलाई अरू कतै अब ।