मलाई यो के भएको
कि कुनै क्षण म दोषी अनुहारको
यौटा धमिलो मौनतामा हुन्छु
अर्को क्षण रूखका हरिया पातहरूमा
उत्तेजनाले नाचिरहन्छु
कहिले एक शोकसभाको आरम्भमा
व्याप्त स्तब्धताझैं गम्भीर हुन्छु
कहिले म बिहानीको क्षितिज
मुसुमुसु मुस्कुराइरहन्छु
मलाई यो के भएको
कि कहिले गाँठो परेको सास म
घाँटीभरि अड्किरहन्छु
फेरि कहिले भने कुत्कुतीहरूमा
खित्का भएर फुस्किरहन्छु
कतै चाहिं कुरिकुरिहरूमा खुम्चिरहन्छु भने
कतै उन्मत्त बतासको पखेटामा चढी
एक नौलो धुन गुनगुनाउँदै डुलिरहन्छु ...