कुनैबेला आफैँजस्तै कसैले
भनिदिन्छ मानिसलाई
‘तँ सृष्टिको सबैभन्दा बाठो जिनिस होस्’
बाठो भएको भ्रमित खुसीमा
टाठो पल्टिएर सुनाउँछ
एकदिन आफैँलाई –
‘प्रकृतिको सबैभन्दा बलियो थोक पनि म नै हुँ’
तर कहिल्यै सोच्न भ्याउँदैन मानिस भनिने थोकले
ऊ सृष्टिका केहीहरूमध्ये त केही टाठो छ पनि होला
ऊ प्रकृतिका केहीहरूमध्ये त केही बलियो छ पनि होला
तर
सृष्टि र प्रकृति स्वयम्का तुलनामा
ऊ यति झिनो छ,
तिनका पातला थप्पडहरूमा पनि ऊ
कयौँ दिन अचेत हुन सक्छ ।
कुनै दिन
सृष्टिसँगको मसिनो झगडामा
प्रकृतिसँगको सानो लडाइँमा
पराजीत भएको क्षणबाट
शुरू गर्छ मानिसले
प्रार्थना ।