Last modified on 13 फ़रवरी 2022, at 23:16

प्रिय ! / बालकृष्ण सम


म मरें प्रिय,
अब तिमीलाई घेर्नेछन् मेरा गुनहरू आएर,
ती सबलाई धपाइदेऊ दया बलैले त्यागेर ।
मेरा बैगुन पनि ता होलान् (रहँदा बस्ता कसको हुन्न !)
म मरें भनी ती पनि भाग्नेछन्,
शिरबाट हामफाल्न खोज्नेछन् ।
प्रिय, तिनीहरूलाई
एकदम गाँज !

ज्यादै वरबाट हेर्दा सानो वस्तु ठूलो देखिन्छ-
मेरा बैगुनहरूलाई तिमी
छातीमा टाँस !

कैले कैले तिमीसित मैले साह्रो स्वरले बोले हुँला,
कैले देखाऊँ भनी केवल आँखा पनि त तरें हुँला,
काल यति वर आइसकेको होला भन्ने कति नसम्झी
तिमीलाई मैले कैले कैले घुर्की लाएँ हुँला ।

म त ती कुराहरू सम्झन्न;
तर तिमीले सम्झनै पर्छ प्रिय,
अवश्य मेरा बैगुन होलान्,
खोज !
सियोको टुप्पोजनोमात्रै भए पनि ता पुगिहाल्यो,
आँसु आउने प्वालहरू दुवै तिनैले टाल !
प्रिय, मलाई शून्य शब्दमा फाल !

शारदा १२१६, पौष २००३