पार्कको
यो त्यही बेञ्च हो
जहाँ बसेर सँगै देखेका थियौँ हामीले
— तिमीले एउटा सपना
— मैले एउटा सपना
आश्चर्य त यो थियो !
ती सपनाहरु थिए हुबहु एउटै रङका
यतिका बर्षहरुपछि
फर्र्किएर हेर्छु आफैलाई,
तिमीलाई,
बेञ्चलाई पनि !
यो बेञ्चले पनि सहेकै हो उमेरका थप्पडहरु
झरी, घाम र सुख्खापनले हानेकै हो यसलाई पनि लात र घुस्साहरु
तातो र चिसोले चिथोरेकै हो यसको मुहारलाई
रात र दिनले गरेकै हो ताण्डव नृत्य यसको शरिरमा पनि
अहिले
तिमी अरु नै कतै
म यहाँ अर्कै भूगोलमा
अहिले पनि
देखिरहेछौँ हामी सपना
— तिमीले एउटा
— मैले एउटा
आश्चर्य त यो छ
यी सपनाहरु
कहीँ कतैबाट पनि देखिन्नन् उही स्वरुपका
पार्कको यो बेञ्च
उहिल्यैदेखि तर
किन देखिरहेछ उही उस्तै सपना ?
खियाले अलिअलि खाएपनि
किन छ
उस्तै अनुहार यसको
स्वरुप उस्तै
र उस्तै प्रकृति ?
किन बदनाम छ तर यो
लिएको छ भनेर
फलामको शरिर
फलामकै अनुहार
र फलामकै मुटु ?