केही चिरा मनको अवशेष छ
केही टुक्राहरुमा
छट्पटाइरहेछ
अपमानको अस्तित्व।
मैले चालेका पाइलाहरुमा
कोही अर्के यात्रा पार गर्छ
मैले साचेको तिर्खा
कैले पीउनै नपाएको पानीसँग बग्छ।
जीवनको गीत लेख्ने कागज
मेरै पसिनामा भिज्छ र नष्ट हुन्छ,
ओइली झर्ने ती कुमारी कल्पना सम्झन्छु
चेत मरेको कुनै पागलको
गीत जस्तो सुन्छु मेरै आर्तनाद
जसरी
अनुहारमा तेजाब फ्याकिएकी सुन्दरी
कुनै ऐना हेरेर मुस्कुराउँदिन
त्यसरी
आजित जीवनको शिखरबाट
खुशी सुसेल्न सक्दिनँ।
खवरदारीको मौसम छ
दाम्लाका डामहरु छोपेर
कोमलताको पछ्यौरीले सजिनुछ,
मेरा पासित हातहरु
यी निफर सपनाहरु
र यो विषादको प्रतिविम्ब
तिम्रो आँखाले पढ्दो हो त,
यो परच्छन्दको महशुष
तिम्रो हृदयले गर्दो हो त,
तिमी जिस्किने थिएनौ
मेरा जीवनका हृदयविदारक बिम्बहरुसँग,
मेरो संवेदित अनुहार नियाल्दै
न मलाई नमुस्कुराउनुको कारण सोध्थ्यौ,
अझ मेरो नाम
फूलकुमारी राख्थ्यौ होला र ?