फूलले भन्यो काँडासँग, तिमी कति भाग्यमानी
मेरो आयू दुई दिनको, अजम्बरी तिम्रो जवानी
कति फरक पर्छ यहाँ हेरिदिने हेराइले
उसले रुँदा मोती झर्ने, मेरो आँशु सादा पानी
रोज्ने मौका पाउँथेँ भने काँडा भई बाँच्ने थिएँ
मनपरेन फूलको जस्तो ओइली झर्ने जिन्दगानी
एकैछिनलाई भए पनि सौन्दर्य नै प्यारो लाग्छ
त्यसैले त शीत पनि फूलमै झर्छ जानिजानी
बाँच्नै छोडी तेरा मेरा भइरहे सास चलुन्जेल
आँखा चिम्लेपछि तिनमा अरूको नै मनोमानी
कतिकति कुराहरू मनभित्रै हराइजान्छन्
यति कुरा भनेँ, सानु! तिमीलाई आफ्नो ठानी