Last modified on 7 जून 2020, at 22:09

फेरि तिम्रै माया / सुमन पोखरेल

तिम्रो सम्झनाजस्तै
बिझाउँछ यो ओछयान
सिरकले थिच्दछ तिम्रो यादले झैं
तकिया तिम्रो झझल्कोले झस्काउँछ ।

अनुहार छोप्दछु म
आफ्नै दुई हातले
तिम्रा केश चलाएका औँलाका स्मृतिभरि
तिमी बास्ना आउँछ्यौ ।

टाउको भित्तामा ठोक्दैमा
झरेर नजाँदोरहेछ सम्झना ।

मध्यरातमा उठेर
आफैँलाई
रक्सीमा मिसाएर पिइदिएँ अलिकति
अलिकति चुरोटको धूँवासँगै उडाइदिएँ
मनभरिको बादल पगाली
परेलीबाट बगाइदिएँ अलिकति ।

कति गाढा लागेको
तिम्रो सम्झनाको दाग
आफू सिद्दिसक्दा पनि जाँदै नजाने ।

सिन्दुर र टीकाभन्दा
गाढा हुँदोरहेछ मायाको दाग
पोते र चुराको भन्दा कसिलो हुँदोरहेछ
मायाको बन्धन ।

छेक्न सकेन समयको अग्लो पर्खालले
सम्झनालाई ।

बत्ती निभाउँदा पनि
ओछ्यान बिजाउँदा पनि
तिम्रै याद सल्बलाउँछ ।