Last modified on 14 अगस्त 2024, at 07:45

बग्ने आँट मेरो / सानु शर्मा

बग्ने आँट मेरो, मलाई बीच धाराको रहर
जिन्दगी चाहिँ गरिरहन्छ किनाराको रहर

जीवनको पल्लैछेउ पुग्ने अठोट हो मेरो
नत्र किन गर्थेँ र म अफ्ठ्याराको रहर

पूर्णिमाको जूनजसरी उज्यालो छरिरहेँ
उसलाई भने अँध्यारो र सिताराको रहर

आफैँ नै बुझिदेओस् मलाई उसले ठान्छु
गरिरहन्छ ऊ चाहिँ सधैँ इशाराको रहर

उसको मेरो कुरो कहिल्यै मिल्ने छाँट छैन
चाहन्छु म साथ, उसलाई गुजाराको रहर

अनगिन्ति जङ्घारहरू एक्लै तरिरह्यो
गरेन मेरो मनले कहिल्यै सहाराको रहर

मनको मनमा के छ के छ, बुझेरै नसकिने
किन गर्छ यति बिघ्न अँध्याराको रहर

जिन्दगीलाई नभेटी सकिन लाग्यो जिन्दगी
पूरा हुने छाँट छैन, सानु ! बिचाराको रहर