अँध्यारो
मौनझैँ रहेको आफ्नो बतासको हातले
छामछाम छुमछुम गर्दै भित्ताहरूमा
खोजिरहेछ बाटो
घरभित्र पस्नलाई ।
उज्यालो
झ्यालबाट निस्केर बाहिरसम्म
नियालिरहेछ अँध्यारालाई एकतमासले।
आफ्नो उत्कण्ठासमेतले पाइन थपेको दोधारबीच
असन्तुलित छु, यसबेला म;
उद्वेलित छु, र
झकाएका आँखा च्यापेर निर्णयविहीन टोलाइरहेछु ।
थाह नपाएझैँ यो प्रेमोन्मादको छट्पटाहट
लेखिसिध्याऊँ यो कविता
वा
निभाइदिऊँ मेरो कोठाको बत्ती?