Last modified on 23 जून 2020, at 15:38

बर्लिनमा साँझ / रमेश क्षितिज


जति जति साँझ गहिरिँदै जान्छ
उति उति रङ्गीन हुँदैजान्छन् सडकका किनारहरू
भिड बढ्छ बारहरुमा

कुनैबेला हिटलरको नाजी सैनिकले परेड खेलेका
बर्लिनका फराकिला चौक, गल्ली र
दोस्रो विश्वयुद्धको घाउ जीउभरि बोकेर उभिएको
बूढो चर्चछेउ
बाक्लिँदै जान्छ पर्यटकहरूको जमघट

इरोटिक म्युजियमको माथिल्लो तलामा रहेको
युथ होस्टेलको ठूलो कोठामा
विश्व भ्रमणको योजना बनाउँदै
कुनै रङ्गीन किताबमा झुकिरहेकी चिनियाँ युवती
हातमा गितार बोकेर कोठामा भित्रिने निग्रो सुन्दरी
र गाउँकी स्वास्नी र कलिला केटाकेटी सम्झिदै
बिछ्यौनामा ढल्केको नेपाली शिक्षक
सबै छन् आ–आफ्नै धुनमा

र बर्लिनको यो कोठा
धेरै रङ्गहरू मिसाएर बनाएको
एउटा सिङ्गो चित्रजस्तो बन्छ 
आँखा आँखामै हुन्छ कुराकानी
इसारै–इसारामा हुन्छ संवाद

एउटै विश्वमा कहिले यो कुना, कहिले ऊ कुना
हिडिरहेका मानिसलाई
सोध्नै पर्दैन परिचय
 एउटा असल मित्र हो उ मानिसको,

कोही रोजगारीका लागि
कोही देश हेर्न
कोही सेमिनार वा गोष्ठी र सभाका लागि
कोही छट्पटाइरहेको टाढा रहेकी प्रेमिकाको अथाह प्रेमले
वा सम्बन्ध विच्छेदको पैmसला पर्खिरहेकी उदास कोही

अनेकौँ कथाहरुको एउटै सङ्ग्रहजस्तो
आजको बर्लिनको यो कोठामा
सुत्नुअघि “कर्पूर गौरं करुणावतारं” जपिरहेको हिन्दु
अल्लाह सम्झिरहेको कोही
भोलि चर्च जाने तयारी गरिरहेको कोही – सबै बुनिरहेछन्
आ–आफ्नै योजना

तर बिउँझेर सबै झुम्मिन्छन् अचानक चोट लागेकी
बङ्गाली केटीको वरिपरि रातमा
र गर्न थाल्छन् आ–आफ्नै भाषामा मौन प्रार्थना

बर्लिनको यो साँझ
रङ्गीविरङ्गी प्रकाशको एउटै इन्द्रेनी बन्छ
फरक स्वरहरूको एउटै
समवेत बन्छ ।