Last modified on 13 फ़रवरी 2022, at 21:31

बहुलासँग / गोपालप्रसाद रिमाल

गरन गर बहुला दाज मनको विस्तार
खुलस्त मन मधुर स्वरले गर है विस्तार
उज्ज्वल अति टुलटुल आँखा अब नघुमाऊ
नबुझिने गरी फैलाइ हात भाउ नलाऊ
अगाडि तिम्रो नाचेको कुरा कत्ति नै देख्दैनौ
हामी त तिम्रो हाउ र भाउ पटक्कै बुझ्दनौं
गाऊन गाऊ बहुला दाजे मनको संगीत
नबुझे पनि सुन्न त देऊ अनौठो त्यो गीत
निर्दयी भई “तिमी त जीव अर्क हौ भवका"
भनेझैँ गरी बिरानो चाल नझिक मनका
गरन गर बहुला दाजै मनको विस्तार
हात्तिको सूँड झिँगाको खुट्टा- यो भार नपार
आँशु है सुक्यो रुँदा र रुँदा पीर नटुंगिने
अगाडि छ मेरो दुःखको खाल्डो आँशुले नभरिने
जरूर छैनन् सुख र दुःख तिम्रो त्यो संसारमा
होइन भने किन त्यो ज्योति अल्लारे आँखामा ?
..................................
शारदा, ३|३, श्रावण १९९४