निरुद्देश्य सलबलाउँछन् बतासमा सल्लाका पात
पहिलो कस्मिक किरणमा फस्टाएर
मुख बाउँदै फुलेको छ निरुद्देश्य
खोक्रो रुखका आडमा सुनगाभा
उल्काले शिकार खेलिरहने
यो निरुद्देश्य आफैँमा बाँधिएको छ आकाश ।
त्यसै त्यसै आत्महत्या गरिरहन्छन मेरा आकाङ्क्षा
राहुका ग्रासबाट उम्केर पनि
अर्थ्याउन सकिएन यस अन्योलमा
क्रमशः साँधुरिँदै गएको जीवन
मेरो विरोध दाँत र नङ्ग्रा फुकालेर
लाज पचाउँदै फर्केपछि
म त मात्र बाँकी रहेछु
एक प्रतिक्रिया
न केही खोज्नु न केही पाउनुको एक अभिव्यञ्जना
न मर्नु न जिउनुको
आफ्नै मुटुको न्यानोदेखि वञ्चित
न्याय नपाएको आफ्नै मस्तिष्कदेखि
एक होइन असङ्ख्य यन्त्रचालित निष्प्राण जीवनमाझ
बेमोल कत्तिपल्ट साबित भइसकेको छु
पुरिएको छु टाउकोसम्म
आफ्नै स्मृतिले नभ्याउने गरी ।
श्रमको प्रतिदान काँधमा अभिभारा बोक्नेहरू
अमूर्त बनेर हेर्नुपर्छ एकपल्ट
इतिहासका बाचामा पिल्सिनलाई
लाश बनेर हेर्नुपर्छ एकपल्ट
सम्मानको बोझ छातीमा खप्नलाई
यही जीवन होइन मृत्युको पूजा चलिरहन्छ
तर निरुद्देश्य जिउन नै चाहन्छन्
पथभ्रान्त मानिसका मोडेल ।
कुन दिन मेरो अस्तित्वको बोझ खस्न आयो
कुन उदेश्यले सुख भोग गरेका थिए मेरा जन्मदाताहरूले
म त यहाँ निरुद्देश्य पो जन्मेको रहेछु
म त यहाँ निरुद्देश्य पो हुर्केको रहेछु ।