Last modified on 28 जुलाई 2020, at 10:15

बाग्मतीभरिको काठमाडौं / सुदीप पाख्रिन

निर्निमेष पग्लिएर आस्थाहरुको हिमाल
जीवन-शून्य बाग्मती बगिरहेछ !
मृत बाग्मती बगिरहेछ !!
श्रद्धाका बनस्पतीहरु उम्रदैनन् — यहाँको पानीमा
विश्वासका जिउँदा प्राणीहरु पाइन्नन् — यहाँको पानीमा
आशाका जीवित माछाहरु पौडदैैनन् — यहाँको पानीमा
आजभोलि
बाग्मती — बाग्मती नै छ ?
अथवा
बाग्मती — बाग्मती छैन ??
एकपटक सोध्नु छ — बाग्मतीलाई नै

थुप्रै थुप्रै बिसंगतिहरु बोकेर छातिभरि
थुप्रै थुप्रै विकृतिहरु ढोएर थाप्लोमा
थुप्रै थुप्रै समस्याहरु लिएर आफूसँगै
पूर्ण मृत्यु र अपूर्ण बचाइको दोसाँधमा काठमाडौं
रातहरुको एक कुनामा
लखतरान परेर बर्बराउँदैछ
बाग्मती पनि झाँगिएर
काठमाडौंका सडकहरुमा
काठमाडौंका गल्लीहरुमा
यत्रतत्र बेरोकटोक दगुरिरहेछ
अब सोच्नु पर्ने यो भइरहेछ
काठमाडौंभित्र बाग्मती छ ?
या, बाग्मतीभित्र काठमाडौं छ ??

काठमाडौंवासीहरु
बाग्मतीका घाउहरुलाई
नगरकोटको डाँडामा,
फूलचोकीको मौसमे हिउँमा
र कहिले मन्दिर अनि देवलहरुमा लगेर मलम लगाउन खोज्दैछन्
अनि
काठमाडौं मात्रै नेपाल हो
भन्ने भ्रममा गमक्क परिरहेका छन्
बिचरा !
बाग्मतीभरिको काठमाडौं !!
अनि काठमाडौंभरिका काठमाडौंवासीहरु !!!