Last modified on 14 मई 2015, at 13:11

बाटो / उपेन्द्र सुब्बा

म त मेरै बाटो हिँडिरहेको थेँ
खोइ? काँबाट आयौ, र तिम्ले
मेरो बाटो छेक्यौ
नचिन्या मान्छे (?)
म त नबोलुँ भन्दै थिएँ
कि, तिम्ले सोध्यौ–“यो बाटो काँ जान्छ?”
र बोल्न करै लाग्यौ
भनेँ–“यो बाटो मेरो आँगनछेउ हुँदै पर प...र जान्छ।”
 
जब,
तिमी गयौ–
मेरो घर आँगनछेउ भएर गयौ
आखिर, मेरो मन मुटु छोएर गयौ।
 
तब,
अचानक बेचैनी बढ्यो
त्यसै त्यसै–
दोबाटो कुरी बस्न मन भएर आयो
कतै फेरि,
घुमिफिरी यै बाटो भएर आउँछौ कि?
पृथ्वी गोलो छ भन्ने लागेर आयो
र, सोध्छौ कि फेरि–“यो बाटो काँ जान्छ?”
भन्नेथेँ–“यो बाटो मेरो दिलसम्म जान्छ”
यस्तै सपना पो जागेर आयो।
 
अब,
तिम्रो आँगनसम्म पुग्ने बाटो
म कसलाई सोधौँ?