Last modified on 12 जनवरी 2015, at 12:34

बादल / लक्ष्मीप्रसाद देवकोटा

हामी सन्तति हौं अगाध जलका
ग्रीष्मर्तुको जन्म हो,
हाम्रो जन्म हुँदा महोत्सव थियो,
सारा उज्यालो सफा,
हाँस्थे सूर्य र छालमा उछलिंदा
टल्पल् गरी नाच्तथे,
टाढासम्म हावा निमन्त्रित थिए,
चल्थे बडा तेजले।
 
हाम्रो व्योमविहारको मन थियो,
ऊँचा थियो कामना,
हामी सुस्त चढ्यौं सफा किरणका
साना मसीना सिंढी।
माथी-माथि चढ्यौं मिल्यौं र फिजियौं
आकाशको क्षेत्रमा
बोकी चल्छ हवा डुलाउन जगत्
डाँडा, पुरी, जङ्गल।
 
हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको,
डाँडा र मैदानको
खाल्डा, खोंच हिमालका र वनका
नङ्गा र उद्यानका।
नाला निर्मल नागबेलि जलका
ती निर्झरी, झाडिका
झुत्रा झोपडिका सफा सदनका
प्रासादका, वीथिका।