बारीको डीलमा उभिएर किल्किलाउँदै हाँस्ने
अवोध लालुपातेजस्तै
एउटा बालक
गाउँबाट हराएको छ ।
हिजोसम्म
हरियो त्यो चौरमा
साथीहरूसँग अम्मल-डम्मल खेल्दै थियो
हरियो पातको फिरफिरेसँग
गाउँको बाटो कुद्दै थियो
दोबाटोमा असिनपसिन
दण्डीवियो खेल्दै थियो ।
दु:ख साट्न बजार गएकी आमाचाहिँलाई
अस्तिसम्म कुइनेटोमा
रालसिङ्गान पर्खिबस्थ्यो
तारको गाडी कुदाएर
झुम्राको पुतली नचाएर
बालापनको स्वर्णिम सुख भोगिरहन्थ्यो ।
जुनजस्तो हाँस्थ्यो र
सयपत्रीसँग फुल्थ्यो उसको सुन्दरता।
चोखो धारोमा बगिरहन्थ्यो उसको चन्चलता ।
मकैका विरुवासँग उभिन्थ्यो उसको अवोधता
खोई ऊ कहाँ हरायो ?
चराको गुँड खोजेर
बचेरासँग ऊ चरा हुन्थ्यो
कुक्कू हा खेलेर दिनभर
रातमा वुद्ध निदाउँथ्यो
यति यति पानी घेघेरानी खेलेर
कहिले ऊ रानी हुन्थ्यो
कहिले ऊ पानी हुन्थ्यो ।
खोई ऊ कहाँ हरायो?
अक्षरहरूका निर्मम प्रहारबाट चुटिएर
बा-आमाका सपनाद्वारा लखेटिएर
उसका नाबालक पलहरू
उसका मुलायम कोमल कपासी बेलाहरूसँगै
हठात ऊ हराएको छ ।
महाशय ! तिम्रो कङ्क्रीट मनको भित्तामा
टाल्दैछु यो
बालक हराएको सूचना।