पुतली झैँ सजिएर
पङ्क्तिबद्ध लाइनमा
सतर्क उभिरहेकी कोपिलाले
मेरा आँखामा आँखा रोपेर
अँजुली फैलाउँदै भनी
“आई ह्याभ्’ वन्ट ह्याङ्की सर !
हीट मी.”
मेटिएकै थिएनन्
डोरिँदै–डोरिँदै आएर
उसको हातबाट छुटी फर्केका
स्नेही औँलाका छापहरू
अनायास उठेको मेरो हत्केलाबाट
भक्लक्क लडिझर्यो
छातीभित्र ढुक...ढुक..., ढुक...ढुक... उफ्रिरहेको मुटु ।
बाहिर निस्केपछि,
सडक किनारबाट
उड्नलाई तयारी अवस्थामा रहेको
जेटविमानझैँ ठूलो होडिङ्बोड्मा
अचानक खसे मेरा आँखा
जहाँ लेखिएको थियो
“यहाँ बालमैत्री वातावरणमा पढाइ हुन्छ ।”