Last modified on 7 मई 2021, at 20:13

बाहिरबाहिर हाँसिदिन्छु / सुमन पोखरेल

बाहिरबाहिर हाँसिदिन्छु भित्र लुक्छ आँसु
मरीमरी यो जिन्दगी कहिलेसम्म बाँचूँ ?

साथै हिँड्ने छाया थियो हिँड्दाहिँड्दै छुटिगयो
मिठामिठा सपनालाई ब्यूँझाइले लुटिगयो
जताततै निराशा छ केलाई सम्झी हाँसूँ ?
मरीमरी यो जिन्दगी कहिलेसम्म बाँचूँ ?

रहर थियो मनभित्र कता गयो गयो
एउटा भएको मुटु पनि टुक्राटुक्रा भयो
कुन टुक्रा उठाई अब कुनसँग गाँसूँ
मरीमरी यो जिन्दगी कहिलेसम्म बाँचूँ ?