वर्षौँवर्ष
राउन्नेघारी फाँडेर
माटो भिजाउँदै पसिनाले
नङग्रा खिइएर मासुसम्म पुगे
ठेलाले छोपिए हत्केलाहरू
अनवरत चले ज्यावलहरू
लगातार पोखेर जाँगर
रसाएको हेर्न माटो
टुसाएको हेर्न बीउ
आतुर रहे आँखाहरू
उत्सुक बने आकाङ्क्षाहरू
तर पन्छाएर सबै आश्वस्तताहरू
भत्काएर सबै विश्वासहरू
चरी बोल्यो, पारि कतैबाट
बीउ कुह्यो, बीउ कुह्यो ।
साँच्चै नै टुसाएन बीउ
महिनौँ–महिना टुसाएन
वर्षौँवर्ष टुसाएन
ढुङ्गा नटुसाएजस्तो टुसाएन
उनिउँ नफुल्नुजस्तो टुसाएन
छरिरहेँ आकाङ्क्षा र सपनाहरू
पोखिरहेँ उत्सुकता र अभिलाषाहरू
वर्षौँवर्ष
अविरल, अन्तहीन, असङ्ख्य पटक
थापेर थाप्लामा मुसलधारे वर्षाहरू
भोगेर असिनाका चुटाइहरू
र हिमपातका कक्रयाइहरू
तर टुसाएन, टुसाउने नामै लिएन बीउले
मात्र चरी बोलिरह्यो लगातार–लगातार
बीउ कुह्यो, बीउ कुह्यो
के भयो
माटो त उर्वरै थियो
पसिनाले छपक्क भिजेकै थियो
केले साथ दिएन
मौसमले ठगेको पनि होइन
लहलह भए सबै आलीहरूमा बालीहरू
आलीसरह त बाली हुनैपर्ने थियो
केले ठग्यो ? के भयो ?
कुन दुष्टले कपटको जालो बुन्यो
मैले गुलाफ रोपेँ, सिस्नो झ्याङ्गियो
मैले चमेली रोपेँ, काउछो फस्टायो
उदेक भयो, आश्चर्य भयो
समय त्यसै–त्यसै खेर गयो
किन पुष्पित भएन मेरो प्राङ्गण
किन पल्लवित भएन मेरो परिवेश ?
अवरोधहरू खोजिरहेछु
असहजताहरू नियालिरहेछु
हिजोआज म पनि तर्जुमा गर्दै छु
पापिष्ट कीराहरू मार्ने
विनाशी फट्याङ्ग्राहरू सखाप पार्ने
मेरो चिन्तनको विराट् व्यूहलाई भत्काउँदै
नजिकै यतै कतैबाट
विह्वलतापूर्वक चरी बोल्यो
बीउ कुह्यो, बीउ कुह्यो ।