आमा !
सपनीमा आफैले सुनाएँ तिमीलाई–
मेरो मृत्यूको खबर
र छामेँ–
दबिएको सासको चाप
उर्लिएको आँशुको वेग ।
कतै विवशतामा किरिया बसेकी पो छ्यौ कि !
या त अझै मुर्च्छनामै अल्झेकी छ्यौ !
के थाहा छ तिमीलाई ?
कि केही पनि थाहा छैन ?
तर, साक्षी छन्–
निल्न नभ्याएको गाँस,
चिम्लन नपाएको ओछ्यान
र ढोग्न नसकेको तिम्रो आशिर्वाद
–म मरेको छुइन आमा !
भयो नखोज,
पुग्दैन तिम्रो सामर्थ्य
बरु तिम्रा सबै भगवानलाई पठाउनु
मलाई लिन– अपरिचित ठेगानाको अध्याँरो चेपभित्र ।