Last modified on 11 मई 2020, at 08:34

बैँसभरि नबुझेको कुरा / सुमन पोखरेल

त्यो नदीजस्तै निर्मल थियो ।
वास्तवमा त्यो परिवेश
समीरजस्तै स्वच्छ थियो ।
 
त्यो समीरजस्तै थियो
त्यसैले अँगाल्न सक्दिनथेँ,
नदीजस्तै थियो
त्यसैले हामफाल्न सक्दिनथेँ ।
 
त्यो प्यारो थियो
छेउछेउबाट हिँड्‍न मन लाग्थ्यो,
शीतल थियो
निरन्तर अनुभव गर्न मन लाग्थ्यो ।

मैले माया गरेको
मलाई मैलाईजस्तै माया गर्ने त्यो परिवेश
मेरा लागि
भोगिनसक्नुको थियो ।
 
त्यो समय मेरो निम्ति
अत्यन्त पीडादायक थियो वा
अत्यन्त स्नेहील थियो
बुझिनसक्नुको थियो ।