Last modified on 4 जून 2017, at 15:44

बैँसोन्मत्त किशोरीहरू / निमेष निखिल


हातमा पूजाको थाली बोकेर
अनुहारमा बैँसको लाली पोतेर
आजकल
आफ्नै 'ईश्वर'सँग हातेमालो गरिहिँड्छन्
बैँसोन्मत्त किशोरीहरू।
 
जीवनको यो पाटोमा
निस्केर पराधीनताको सँघारबाट
टेक्न खोज्दै छन् निर्भरताको बाटोमा
तल्लाघरेमाथ्लाघरेका छोरीहरू
सडकलाई रङ्गीन बनाउँदै हिँडिरहेछन्
बैँसोन्मत्त किशोरीहरू।
 
छरेर बैँसालु ऊहापोह मनभरिको
कल्पेर एउटा साथी जीवनभरिको
फड्फडाउन खोज्दै छन् उन्मुक्त पखेटा
नीलगगनको अनन्त उडानका लागि
एकाकार गर्दै छन् धड्कनका ध्वनिहरू
गाँस्दै छन् मायाका डोरीहरू
धर्तीभरि प्रणयको रङ छर्दै हिँडिरहेछन्
बैँसोन्मत्त किशोरीहरू।
 
मैले कवि भएर उन्मुक्त तिनका आभादीप्त अनुहारमा हेरेँ
उनीहरू मलाई आफ्नै कविताका सुन्दर हरफजस्ता लागे
नातासम्बन्धी भएर हेरेँ तिनका निर्दोष अनुहार
बहिनीजस्ता लागे/छोरीजस्ता लागे
मङ्गलकामनाको पहिरो भत्क्यो मनभित्रैबाट
सिँगारी राख धर्तीलाई कल्पकल्पसम्म
गुन्जाइराख आत्मीयताका दोहोरीहरू
पृथ्वीको सुन्दर हाँसोलाई जोगाइराख
बैँसोन्मत्त किशोरीहरू।