Last modified on 14 अगस्त 2024, at 23:30

भरिपूर्ण रिक्तता / सानु शर्मा

तिमी र म बीचको
यो रित्तो ठाउँलाई
छोडिदेऊ रित्तै निदाइरहन ।

कुनै शब्दले भरिदियौ भने यसलाई
कल्पनाको आकाश खुम्चने छ
सपनाको मुहान पुरिने छ ।

जे जे छ
तिमी र म बीच
छँदैछ त्यो,
जेजे हुनेछ म र तिमीबीच
हुने नै छ त्यो पनि ।
र, जे जे छैन
भरेर पूर्ण बनाइदिनेछ
कल्पना र सपनाले ।

पूर्णताको आभास यसैमा छ
सम्पूर्णताको मिठास यहीँ छ ।
००००