Last modified on 22 मई 2020, at 21:08

भरिया / सुमन पोखरेल

थाप्लाभरिको अभावको नाम्लाले
उचालेर पिठ्यूँभरिका भोका पेटहरूको बोझ
अन्धकारजस्तै अनुहार बोकेका दिनहरूसँग
हिँडिरहेछ उकालाओरालाका जीवनजस्तै अप्ठ्यारा बाटाहरू।
 
शासकको मनजस्तै काला कठोर ढुङ्गाका चम्कामा
आफ्नै बैँसजस्तो निस्तो भात उमाल्छ
र मायालु कान्छीको म्वाईजस्तै नून थपेर निल्दछ, घुटुक्क।
 
उसले कहिल्यै सोचेन
कि थाप्लाभरि सयौँको तृप्ति बोकेर
हिँडिरहेछ आफू भोको जीवन
सपनाहरूको पछिपछि
धाप मार्दै कर्मको निष्ठुर उपलब्धिलाई।

आज किन हो, उसलाई तर
सिरान लगाएको ढुङ्गो पनि नियतिजस्तै कठोर लागिरहेछ।
उसको संवेदनविहीन शरीरलाई छोई भाग्दै गरेको बतास पनि
युगौँको निद्राबाट ब्यूँझाइदिने तिव्रताको चिसो लागिरहेछ।
 
आफूले कहिल्यै भोग्न नपाउने जीवनलाई
कल्पनामा निफन्दै निदाउन खोज्छ,
साँझजस्तै धमिलो र भाग्यजस्तै पातलो बर्कोले छोपेर आफूलाई।
मानौँ, त्यो बर्काले उसका सबै अभावहरूलाई छोपिदिनेछ।
 
उसका तमाम खुसी र मुस्कान बोकेको भोलिलाई सम्झन्छ
आफैँसँग मुस्काउँछ र
कोल्टे फेरेर एउटा लामो सुस्केरालाई आँगालो हाल्दै
केवल रात कटाउनका लागि सुतिने सुताइ सुत्छ।
 
भोलि बाँच्ने आशामा ऊ यसरी नै प्रत्येक आज मरिरहेछ।
 
पुस्तौँ बितिसक्दा पनि, तर
आएन भोलि कहिल्यै।