Last modified on 26 मई 2017, at 12:57

भलो मान्छे / विष्णु न्यौपाने



बिना पैसा
लाखौं मूल्यको घरजग्गा पास गरिदिन्छ ।
बेसहारालाई सहारा दिन्छ ।
नहुनेलाई बढी माया गर्छ ।
कसैले मागिहाले
आफू सानै कोठामा गुजारा चलाई
घरको ठूलो कोठा अरुलाई नै दिन्छ ।
आवश्यक परे नपरेको सोधी सोधी
रुपैयाँ चलाउन पनि दिन्छ ।
पाहुना ठान्दैन ऊ कहिल्यै
सबैलाई परिवारको सदस्य नै ठान्छ ।
महिना मर्ने एकाबिहानै
ओछ्यानमै आएर ब्युँझाइ पनि दिन्छ
बदलामा केही चाहँदैन ऊ
थोरै महङ्गो किराया र
पाइ पाइको हिसाबले
कसिलो ब्याज दिए खुसी हुन्छ ।

पानीको माछो किन चिप्लो हुन्थ्यो र
त्यो भन्दा चिप्लो छ ऊ
दाम्लोको पोया किन बाटिन्थ्यो र
त्यो भन्दा मस्किएर बाटिइदिन्छ ऊ
कोसेढुङ्गा नै किन नभनौं
जहाँ पनि ठिक्क मिलिदिन्छ ऊ
सबै संस्था , सबै सङ्गठन
सबैलाइ कोरम पु¥याइदिन्छ ऊ
मुख्य पद नै किन चाहियो र
सदस्य मात्रैमा रमाइदिन्छ ऊ
किनमेलमा सदस्य थपिदिए पुग्छ
संयोजक आफैं बनिदिन्छ ऊ
निकासा चाहिँदैन उसलाई कहिल्यै
विलमात्र पेस गरिदिन्छ ऊ
बदलामा उसलाई केही चाहिँदैन
सित्तैंमा समाजसेवा गरिदिन्छ ऊ ।