Last modified on 28 अगस्त 2024, at 21:33

भाग्यले ओराल्न सक्दैन / सुमन पोखरेल

हरेक पल बाँच्नै पर्छ मन नपर्दा फाल्न सक्दैन
जीवनबाट एकै पल कसैले निकाल्न सक्दैन
 
दिन रात बिताउन गाह्रो पूरा जीवन के होला
बुझिसकेँ यो जिन्दगीले मलाई पाल्न सक्दैन
 
अर्काको बुईमा अर्जेको सम्मान ढल्दछ ऊसँगै
पौरख गरी उक्लिनेलाई भाग्यले ओराल्न सक्दैन
 
संसार नै फाँड्नु पर्छ मनलाई दह्रो बनाइराख
सुकोमल हृदयले त मायामा हाम्फाल्न सक्दैन
 
छियाछिया भइसक्यो मुटु भत्केको छ जताततै
कसैको मुस्कानले अब यो मुटु टाल्न सक्दैन

जहाँजहाँ जानु थियो तिमीसँगै गई नै सक्यो
यो मनलाई अब अरू कसैले बराल्न सक्दैन

वेगले धड्केको यो मुटु सम्हाल्नै गाह्रो भैसक्यो
मन गरे तिमी एक छौ, अरूले सम्हाल्न सक्दैन

अझै कति रुन्छस् सुमन ! छुटेको माया सम्झी
जीवनभरको आँशुले त्यो घाउ पखाल्न सक्दैन