Last modified on 3 मई 2020, at 12:18

भीडमा हराउने मन थिएन / गीता त्रिपाठी

भीडमा हराउने मन थिएन
शिखरमा उभिन धन थिएन
त्यसैले एक्लो हिँडिरहेँ
तिम्रो पनि क्यै समर्थन थिएन
 
म बाँचेथेँ तर त्यो जीवन थिएन
हाँसेथेँ तर कहीँ खुसी थिएन
त्यसैले चुपचाप हिँडिरहेँ
तिम्रो पनि क्यै समर्थन थिएन
 
धर्तीमा टेक्ने ठाउँ थिएन
क्षितिजमा आफ्नो स्थान थिएन
त्यसैले धूवाँ भै सल्किरहेँ
तिम्रो पनि क्यै समर्थन थिएन